पाँच वर्षमा चार सयको मिर्गौला प्रत्यारोपण

जीवनशैली
फाल्गुन ६, २०७४ / ०८:५३ मा प्रकाशित

काठमाडौँ, फागुन ६ गते । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय अङ्ग प्रत्यारोपण केन्द्रमा हालसम्म चार सय चारको सफल मिर्गौला प्रत्यारोपण भएको छ । मानिसका विभिन्न अङ्ग प्रत्यारोपण गर्ने उद्देश्यले सरकारले पाँच वर्षअघि स्थापना गरेको उक्त केन्द्रमा पहिलो चरणमा मिर्गौला प्रत्यारोपण गर्न सुरु गरिएको थियो ।
“पाँच वर्षअघि २०६९ माघ ६ गतेबाट मिर्गौला प्रत्यारोपण गर्न सुरु गरेका थियौँ”, केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले भन्नुभयो, “छोटो अवधिमै केन्द्रले चार सय चार जनाको मिर्गौला प्रत्यारोपण गरिसकेको छ । ”

स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले मिर्गौला रोगसम्बन्धी जनचेतनाका कारण पनि प्रत्यारोपण गर्ने मानिसको सङ्ख्या बढेको बताउनुभयो । सचिव चौधरीले सरकारले मिर्गौला रोगीलाई हप्तामा तीनपटकसम्म गर्नुपर्ने नियमित डायलासिस तथा प्रत्यारोपणसमेत निःशुल्क गरेकाले मिर्गौला प्रत्यारोपणप्रति आकर्षण बढेको जानकारी दिनुभयो ।
यसअघि डायलासिसका लागि मात्र मासिक ३५ देखि ३० हजार रुपियाँ खर्च गर्नुपथ्र्यो, “स्वास्थ्य सचिव डा. चौधरीले भन्नुभयो, “अहिले डायलासिस तथा प्रत्यारोपण निःशुल्क भएको छ । ” नेपालमा रहेका सरकारी अस्पतालमा प्रत्यारोपण गर्दा बिरामीले झन्डै छ लाख रुपियाँ खर्च गर्नुपर्छ भने निजी अस्पतालमा १५ देखि २० लाख रुपियाँ खर्च हुने गर्छ ।
सचिव डा. चौधरीले पछिल्लो समय नसर्ने रोग बढ्दै गएको भन्दै नसर्ने रोगविरुद्ध सबै मिलेर जनचेतना जगाउनुपर्ने अवस्था आएको बताउनुभयो । प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ र प्राडा राकेशकुमार बर्माकोे टोलीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतलामा सन् २००८ डिसेम्बरदेखि मिर्गौला प्रत्यारोपण गर्न सुरु गरेको हो भने त्रिवि शिक्षण अस्पतालमा पनि सन् २००८ बाट डा. प्रेम ज्ञवाली र डा. दिव्यासिंह शाहको नेतृत्वमा मिर्गौला प्रत्यारोपण गर्न सुरु गरिएको हो ।
डा. श्रेष्ठले बेलायतबाट प्रत्यारोपणसम्बन्धी अध्ययन गरेर नेपालमा वीर अस्पतालमा ९९ जना र शहीद धर्मभक्त राष्ट्रिय अङ्ग प्रत्यारोपण केन्द्रमा चार सय चारजना व्यक्तिको मिर्गौला प्रत्यारोपण गरिएको जानकारी दिनुभयो । उहाँले आवश्यक जनशक्ति भएमा दैनिक दुईदेखि तीन जनासम्मको प्रत्यारोपण गर्न सकिने बताउनुभयो । डा. श्रेष्ठले हालसम्म मिर्गौला प्रत्यारोपणमा अङ्गदातातर्फ शतप्रतिशत र मिर्गौला प्रत्यारोपण सफलता ९८ प्रतिशतसम्म रहेको जानकारी दिनुभयो ।
पछिल्लो समय एक परिवारको मिर्गौला अर्को परिवारमा साटासाट, ‘ब्रेन डेथ’सम्बन्धी नियमावली, नातेदारमा फराकिलो दायरा लगायतका कारणले मिर्गौला प्रत्यारोपण गर्ने मानिसको सङ्ख्या बढेको हो । विसं २०७३ मङ्सिर १६ गते मानव शरीरको अङ्ग प्रत्यारोपण नियमावली आइसकेपछि नेपालमा ब्रेन डेथ भएका व्यक्तिको अङ्ग अन्य व्यक्तिलाई प्रत्यारोपण गर्न सम्भव बनेको थियो । ”
डा. श्रेष्ठले यसअघि नेपालबाट बर्सेनि छ अर्ब रुपियाँ मिर्गौला उपचारका लागि बाहिरिने गरेको जानकारी दिँदै नेपालमा निःशुल्क प्रत्यारोपण हुनु मिर्गौला बिरामीका लागि ठूलो सफलता भएको बताउनुभयो ।

छलफल मा सहभागी हुनुहोस