श्रीमान र छोराले घरबाट निकाले, अझै न्याय पाइएन

जीवनशैली
फाल्गुन ९, २०७४ / ०५:५५ मा प्रकाशित

झाङ, फागुन ९ – छविसपाथीभेरा गाउँपालिका–३, घर भएकी कौशिल्ला उपाध्याय अहिले घरको न घाटको हुनुभएको छ । उहाँको न बस्ने बासस्थानको टुङ्गो छ, न त खाने कुराको नै । आफू मानसिक तनावले ग्रस्त भैसकेको झै लाग्छ कौशिल्लालाई ।

श्रीमान र छोराछोरीले नै घरबाट निकालिदिएपछि उहाँको हरेक दिन न्याय खोज्दै हिँड्दा बित्ने गरेको छ । दिनपछि रात जान्छ, तर कोशिल्लाले भोगेको अन्याय अहिलेसम्म समाधान हुन सकेको छैन । अझ भनौं उहाँले गएको १० वर्षदेखि न्याय पाउनुभएको छैन ।

माइत जाउँ भने दाईले घरमै लडेर खा, मर्नु परे त्यहीँ मर ! भन्नुहुन्छ । घर बसौं भने श्रीमानले सधै कुटपीट गरेर घरमा बसी खाने अवस्था छैन’, कौशिल्ला आफ्नो पीडा सुनाउनुहुन्छ । आफूलाई श्रीमान छोराछोरीसँगै घरमा बसेर खाने व्यवस्था गरिदिनुपर्यो भनेर कौशिल्ला गएको १० महिनादेखि अदालत धाइरहनुभएको छ ।

आफूले न्यायका लागि ४ वर्ष अघिदेखि प्रहरीमा उजुरी दिएको भए पनि न्याय नपाएको उहाँ बताउनुहुन्छ । गएको वर्ष कौशिल्लाका श्रीमानले अर्की श्रमिती ल्याएपछि उहाँ झनै अप्ठ्यारोमा पर्नुभएको छ ।

‘४ पटक न्यायका लगि म प्रहरी कहाँ आएँ’, चैनपुरमा वकिलहरुसँग भेट्न आएकी कौशिल्लाले भन्नुभयो,  ‘प्रहरीको अगाडि अब कुटपीट गर्दिन भनेर माफी माग्ने श्रीमानले घरमा गएर झनै दुःख दिने गर्नुहुन्थ्यो । अहिले त अर्की श्रीमती ल्याएपछि बाध्य भएर न्याय खोज्न जिल्ला आएकी हुँ ।’

कौशिल्याको १३ वर्षको उमेरमा नै विवाह भएको थियो । ‘श्रीमानले बुवाआमालाई तराईमा घर छ भन्नु भएको थियो, तर उहाँको घर नै रहेनछ’, कौशिल्याले भन्नुभयो, ‘त्यो त सबै झुक्याएको रहेछ ।’

‘श्रीमानले तीन महिनासम्म अर्की श्रीमती घरमा ल्याउँदा पनि म सहेरै बसेकी थिएँ’, कोशिल्याले भन्नुभयो, ‘पछि त छोराहरुले नै मलाई घरबाट निकालिदिएपछि बासस्थान र खानको नै समस्या भएको छ ।’ गएको जेठ महिनामा घरेलु हिंसा र बहु–विवाहको मुद्दा दर्ता गरेकी कौशिल्याको अदालतमा मुद्दा चलिरहेको छ ।

श्रीमानले घरबाट निकालेपछि अदालत आएकी कौशिल्लालाई अदालतमा मुद्दा दर्ता गर्न पनि वकिलले पैसा मागेपछि न्याय नपाइने हो कि भन्ने लागेको छ । ‘पाइएन न्याय ! प्रहरीको असहयोग, वकिलले मुद्दा लेखेको मात्र ५ हजार लियो’, कौशिल्लाले भन्नुभयो, ‘खानबस्नको त ठेगान छैन कसरी पाउने न्याय ।’

‘उहाँका श्रीमानले पनि गाउँपालिकामा सम्बन्धबिच्छेद गरी पाउँँ भनेर निवेदन दिनुभएको रहेछ, वकिल वीरबहादुर जाग्रीले भन्नुभयो, ‘यिनका बुढाबुढीको के भएको हो बुझ्नै सकिँदैन ।’ कौशिल्लाका जेठो छोरा १० कक्षामा पढ्छन् भने कान्छो छोरा ४ कक्षामा पढ्छन् ।

छोराहरुले पनि बुवाको कुरा सुनेर आफूसँग बोलचाल बन्द गरेको उहाँ बताउनुहुन्छ । घरपरिवारको पीडाले आफूलाई धैरै मानसिक तनाव दिएको उहाँको भनाई छ ।

श्रोत उज्यालो

छलफल मा सहभागी हुनुहोस