प्रहरीले नियन्त्रणमा लिएका ११ ट्याक्टर गायब

जीवनशैली
फाल्गुन १३, २०७४ / ०६:०६ मा प्रकाशित

चितवन । पूर्वी चितवनको कयर खोलाबाट प्रहरीले नियन्त्रणमा लिएका २४ मध्ये ११ वटा ट्याक्टर गायब भएका छन् ।

इलाका प्रहरी कार्यालय रत्ननगरले कयर खोलाबाट नियन्त्रणमा लिएर जिल्ला समन्वय समितिको कार्यालय भरतपुर लैजाने क्रममा बाटोबाटै ११ वटा ट्याक्टर भागेका हुन् ।

प्रहरीले अवैध तरिकाले उत्खनन गरिएको ढुंगा गिट्टी बोक्ने २४ वटा ट्याक्टर नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएकामध्ये ११ वटा ट्याक्टर जिल्ला समन्वय समितिको कार्यालय र दुई वटा इलाका प्रहरी कार्यालयमा रहेको डीएसपी नारायण खतिवडाले जानकारी दिए ।

डीएसपी खतिवडाले भने, “कयर खोलाबाट भरतपुर लैजाने क्रममा ११ ट्याक्टर बाटोबाट गायब भए ।”

डीएसपी चढेको इलाका प्रहरी कार्यालय रत्ननगर र इलाका प्रहरी कार्यालय खैरहनीको गाडीले ती ट्याक्टरलाई स्कटिङ गरेको थियो । अगाडि र पछाडि प्रहरीले स्कटिङ गर्दा बीचमा रहेका ट्याक्टर गायब भएका हुन् ।

डीएसपी खतिवडा भन्छन्, “१५ वटा ट्याक्टर गोन्द्राङबाट अगाडि लागेको मैले देखेको हो । त्यसपछि भरतपुर पुग्दा अन्तिममा ११ वटामात्रै समन्वय समितिको कार्यालयमा आइपुगे ।”

सबै ट्याक्टरको नम्बर आफूसँग सुरक्षित रहेकाले उनीहरुलाई पुनः नियन्त्रणमा लिने उनले बताए ।

“डीएसपीको आँखा छलेर भाग्नेलाई म कुनै पनि हालतमा छाडदिन”, उनले भने, “अब झन कडा कारबाही गर्छु ।”

पूर्वी चितवनको पिठुवा र चैनपुर जोड्ने पुलबाट दक्षिणतर्फको कयर खोलाबाट अवैधरुपमा ढुंगा गिट्टी उत्खनन गरिरहेको अवस्थामा रत्ननगर नगरपालिकाका मेयर नारायण वन र प्रहरीको टोलीले शुक्रबार २४ वटा ट्याक्टर नियन्त्रणमा लिएको थियो ।

जिल्ला समन्वय समितिले सो पुलबाट उत्तरतर्फको खोलबाट ढुंगा गिट्टी उत्खनन् गर्न कञ्चन निर्माण सेवालाई स्वीकृति दिएको छ । तर, सो सेवाले पुलदेखि दक्षिणतर्फबाट अवैधरुपमा ढुंगा गिट्टी उत्खनन गरेको पाइएको मेयर वनले बताए ।

मेयर वनले ठेकेदारले नक्कली रसिद प्रयोग गरेर ढुंगा गिट्टी उत्खनन भइरहेको बताए । “जिल्ला समन्वय समितिको नक्कली रसिद काटेर ढुंगा गिट्टी बेचिएको छ” उनले भने, “यो गैरकानुनी काम हो ।”

जथाभावी कयर खोलाबाट ढुंगा गिट्टी उत्खनन गरिएका कारण खोला नजिकैका गाउँहरु जोखिममा परेका छन् ।

छलफल मा सहभागी हुनुहोस