चरित्र हत्या गर्न खोजेको भन्दै प्रचण्डका घरबेटीले निकाले वक्तव्य

राजनीति
चैत्र १५, २०७४ / ०५:२७ मा प्रकाशित

काठमाडौं । निर्माण व्यवसायी शारदा अधिकारीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीसंग नाम जोडेर आफ्नो चरित्र हत्या गरेको भन्दै आपत्ती प्रकट गरेका छन् ।

केही साप्ताहिक पत्रिका र अनलाइन मिडियामा ‘विप्लवलाई इन्काउन्टर गर्न गृहमन्त्री रामबहादुर थापा बादलमाथि दबाव’ भन्ने शिर्षकमा समाचार प्रकाशित भएपछि अधिकारीले उक्त समाचारको खण्डन गरेका हुन् । उनले आफुले पत्रिकाले दावी गरेजस्तो यो बारेमा कुनै बैठक नगरेको र कुनै नेता विशेषसंग एक शब्द छलफल समेत नगरेको स्पष्ट पारेका छन् ।

माओवादी निकट व्यवसायी अधिकारीले बुधवार सांझ वक्तव्य जारी गर्दै अनलाइन र साप्ताहिकमा प्रकाशित समाचार आफ्नो चरित्र हत्या गर्ने उदेश्यले आएको भन्दै भ्रममा नपर्न सवैमा आग्रह गरेका छन् । अधिकारीले जारी गरिएको विज्ञप्तिमा भनिएको छ ‘म जहिले व्यवसायीक पत्रकारिता र मर्यादित पत्रकारीताको पक्षमा छु,तर हुंदै नभएको घटनामा मेरो नाम जोडेर गरिएको गलत प्रचारप्रती भने मेरो आपत्ती छ र यसको म कडा शव्दमा खण्डन गर्न चाहन्छु । ’

नेकपाका महासचिव विप्लवलाई इन्काण्टर गर्नुपर्छ भनेर नेताहरुलाई दबाव दिएको भन्नेबारेमा प्रकाशित भएको समाचारमा कुनै सत्यता नभएको भन्दै अधिकारीले त्यसविरुद्धमा आफुले कानुनी उपचार खोज्ने बताएका छन् ।

अधिकारी शैलुङ कन्स्ट्रक्सन कम्पनीका संचालक हुन् । उनि माओवादी शहिद परिवारका सदस्य समेत हुन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हाल बसिरहेको घर खुमलटारको घर समेत उनै व्यवसायी अधिकारीको हो । नुवाकोट स्थायी घर भएका अधिकारी स्थापीत व्यवसायी हुन् ।
उनलाई माओवादी अध्यक्ष प्रचण्ड निकट व्यवसायी भनिएपनि अधिकारी भने व्यवसायीक रुपमा काम गर्ने निर्माण व्यवसायीका रुपमा चिनिन्छन् ।

छलफल मा सहभागी हुनुहोस