कोरोना भाइरसको खोप बनाउन कहाँ चुक्यो विश्व ?

सूचना-प्रविधि
बैशाख ९, २०७७ / ०९:३८ मा प्रकाशित

बीबीसी । सन् २००२ मा चीनको ग्वान्झाउ प्रान्तमा एक अज्ञात भाइरसका कारणले महामारी फैलियो, जसलाई वैज्ञानिकहरुले सार्स नाम राखे । सार्सको अर्थ थियो, सिभिएर एक्यूट रेस्पिरेटरी सिन्ड्रोम अर्थात् यस्तो रोग जसमा स्वासप्रस्वासमा गम्भीर समस्या पैदा हुन्छ । वैज्ञानिकहरुले यो पनि पत्ता लगाए कि सार्स रोग कोरोना भाइरसका कारण हुन्छ र यो भाइरस जनावरबाट मानिसमा सर्छ । यस समय भाइरस केही महिनाभित्रै २९ देशमा फैलिसकेको थियो र ८ हजारभन्दा धेरै मानिस संक्रमित भए । सार्सका कारण ८ सयभन्दा धेरै मानिसले ज्यान गुमाए ।

तत् पश्चात् मानिसहरु सार्स विरुद्धको खोप कहिलेसम्म तयार होला ? भन्ने जान्न चाहेका थिए । युरोप, अमेरिका र एसियाका दर्जनौं वैज्ञानिकहरु निकै तिव्र रुपमा सो कोरोना भाइरसको भ्याक्सिन तयार पार्ने काममा जुटे । केही समय पछि नै कतिपय वैज्ञानिकहरुले सार्स कोरोना भाइरसको भ्याक्सिन प्रारम्भिक रुपमा तयार भएको र चिकित्सा परीक्षणका लागि तयारी अवस्थामा रहेका बताएका थिए । तर, त्यतिबेलासम्म सार्स महामारी नियन्त्रणमा आइसकेको थियो ।

त्यसैले कोरोना भ्याक्सिनमाथि जारी तमाम अनुसन्धान बीचमै रोकिए । केही वर्षपछि सन् २०१२ मा एउटा अर्को प्राणघातक कोरोना भाइरस, मर्स कोभ (मिडिल इस्ट रेस्पिरेटरी सिन्ड्रोम) को प्रकोप सुरु भयो । उक्त भाइरस उँटबाट मानिसमा सरेको थियो । त्यसबेला पनि धेरै वैज्ञानिकहरुले उक्त भाइरसविरुद्धको खोप बनाउनु पर्ने आवश्यकता दोहोर्‍याए ।

पहिलोपटक कोरोना भाइरस महामारी देखिएको अहिले झण्डै २० वर्षपछि जब नयाँ कोरोना भाइरस SARS-CoV-2 ले १७ लाखभन्दा धेरै मानिस संक्रमित गरी विश्वभर फैलिरहेको छ, तब पुनः दुनियाँमा एउटा प्रश्न खडा भएको छः आखिर कोरोना भाइरस विरुद्धको खोप कहिले तयार होला ? कोरोना भाइरसले अहिलेको महामारी जस्तो विकराल रुप पनि लिनसक्छ भन्ने दुनियालाई थाहा हुँदाहुँदै र महामारीका अघिल्ला घटनाहरु भोग्दाभोग्दै विश्वले किन पाठ सिक्न सकेन ? अनि कोरोना भाइरस विरुद्धको खोप तयार पार्न अनुसन्धान किन अघि बढाइएन ?

हामीलाई रुचि नै छैन
यावत् घटनाक्रमका बाबजुत अमेरिकाको ह्युस्टनमा वैज्ञानिकहरुको एक टोलीले कोरोना भाइरस विरुद्धको खोप तयार पार्ने अभियान छाडेको थिएन । २०१६ मा उनीहरु सफल भए र कोरोना भाइरस विरुद्धको भ्याक्सिन तयार गरिछाडे । बेयलर कलेज अफ मेडिसिन अन्तर्गतको नेशनल स्कूल अफ ट्रपिकल मेडिसिनका सहनिर्देशक डाक्टर मारिया एलिना बोट्टाजी भन्छिन्, ‘हामीले परीक्षण सकिसकेका थियौं र भ्याक्सिनको सुरुवाती उत्पादन प्रक्रियाको महत्वपूर्ण समय पनि बिताइसकेका थियौँ ।’

बोट्टाजी टेक्सासस्थित बाल अस्पतालको खोप विकास केन्द्रकी सहनिर्देशक पनि हुन् । उनी भन्छिन्, ‘त्यसपछि हामी एनआइएच (युएस नेशनल इन्स्टिच्यूट अफ हेल्थ) समक्ष गयौं र उक्त खोपलाई अस्पतालसम्म छिट्टै पुर्‍याउन के गर्न सकिन्छ भनेर सोध्यौँ ।’ तर एनआइएचका अधिकारीहरुले भने, ‘हेर्नुस्, अहिले यसमा हाम्रो रुचि छैन ।’ उक्त खोप सन् २००२ मा फैलिएको सार्स महामारीको विरुद्धमा तयार गरिएको थियो । वास्तवमा जुन देशमा यसको सुरुवात भएको थियो, उक्त देश अर्थात् चीनमा महामारी नियन्त्रणमा आइसकेको थियो ।

त्यही कारण खोपमा अनुसन्धान गरिरहेका वैज्ञानिकहरुले अनुसन्धानका लागि पैसा जुटाउने अवस्था रहेन । हुन त कोरोना भाइरस विरुद्धको खोपसम्बन्धी अनुसन्धानको काम मात्र रोकिएको होइन । विश्वभरका दर्जनौँ वैज्ञानिकहरुले आफ्नो अनुसन्धान यसकारण रोक्नुपरेको थियो कि मानिसहरुमा त्यसप्रतिको रुचि नै कम भएको थियो र पैसा जुटाउनका लागि समस्या उत्पन्न भएको थियो ।

पेन्सिल्भेनिया विश्वविद्यालयमा माइक्रोबायोलोजीका प्राध्यापक सुजेन भिजका अनुसार सात/आठ महिनापछि जब त्यो महामारीको अन्त्य भयो तब आम मानिस, सरकारहरु तथा औषधि कम्पनीहरुको कोरोना भाइरस माथिको अनुसन्धानको रुची तुरुन्तै सकियो ।

उनी भन्छिन्, ‘साथै सार्सको असर बढि मात्रामा एसियामा देखियो । क्यानडामा यसका केही संक्रमण मात्र फेला परे भने युरोपसम्म यो भाइरस पुगेन । त्यसपछि देखिएको मर्स भाइरसको असर केवल मध्यपूर्वमा मात्र सिमित भयो । जसका कारण कोरोना भाइरसप्रति मानिसहरुको रुची पनि कम भयो । केही दिनअघि सम्म पनि अवस्था त्यहीँ नै थियो । तर मलाई लाग्दछ कि हामी अहिलेको अवस्थाको सामना गर्न पूर्णरुपमा तयार रहनु पर्दथ्यो ।’

यदि खोप भएको भए
विशेषज्ञहरुले सार्स तथा मर्स भाइरसको खतरालाई नजरअन्दाज गर्न नहुने र कोरोना भाइरसको अनुसन्धान जारी राख्नुपर्ने बताउँदै आएका थिए । हुन त डाक्टर बोट्टाजीको टोलीले तयार पारेको भ्याक्सिन अहिले महामारी फैलाइरहेको कोरोना भाइरसका लागि थिएन, सार्स रोगका लागि थियो । तर यदि सार्स रोग विरुद्धको भ्याक्सिन तयार भैसकेको भए कोरोना भाइरसका अन्य महामारीका लागि नयाँ खोप छिटो भन्दा छिटो तयार गर्न सम्भव हुन्थ्यो भन्छन् विशेषज्ञहरु ।

याले युनिभर्सिटीका प्राध्यापक ज्यासन स्कर्टज्का अनुसार कोभिड–१९ को महामारी विरुद्धको तयारी सन् २००२ को सार्स महामारीको बेलादेखि नै सुरु हुनु पर्दथ्यो । उनका अनुसार यदि सार्स भ्याक्सिन कार्यक्रमलाई बिचमै नछोडिएको भए नयाँ कोरोना भाइरसमा अनुसन्धानका लागि हामीसँग प्रसस्तै आधारभूत अनुसन्धानहरु उपलब्ध हुन्थे ।

कोरोना परिवारको भाइरस
नयाँ भाइरस Sars-Cov-2 त्यहीँ परिवारको भाइरस हो, जसले सन् २००२ मा सार्स महामारीको जन्म दिएको थियो । डाक्टर मारिया एलिना बोट्टाजीका अनुसार यी दुई भाइरसबीच आनुवांशिक रुपमा ८० प्रतिशत समानता छ । त्यसैले उल्लेखित भ्याक्सिनले प्रारम्भिक परीक्षण समेत सफलतापूर्वक सम्पन्न गरी अनुमतिको प्रक्रिया समेत पूरा गरिसकेको हुँदा नयाँ कोरोना भाइरस विरुद्धको खोप छिट्टै तयार गर्न सकिन्थ्यो ।

उनी भन्छिन्, ‘हामीसँग योसम्बन्धी उदाहरणहरु हुन्थे । यी भाइरस फरक फरक भएतापनि एउटै वर्गका हुन् । त्यसैले समस्याको जड कहाँ छ र कसरी हल गर्न सकिन्छ भन्ने कुराको अनुभव हामीसँग हुन्थ्यो । चिकित्सा परीक्षणको सुरुवातमा सार्स भ्याक्सिनले कस्तो प्रतिक्रिया जनाएको थियो भन्ने हामीलाई थाहा थियो । हामीलाई विश्वास छ कि नयाँ भ्याक्सिन पनि करीब उस्तै प्रकारले काम गर्दछ ।’

यदि यी सबै जानकारीहरु अहिलेपनि विद्यमान छन् भने त्यस समय कोरोना भाइरसमा चलिरहेका अनुसन्धान किन रोकिए ? विशेषज्ञहरुका अनुसार अनुसन्धानका लागि कति रकम प्राप्त भएको छ भन्ने विषयमा सबै कुरा निर्भर गर्दछ । बोट्टाजी भन्छिन्, ‘हामीले सय डलर वा एक अर्ब डलरको कुरा गरिरहेका छैनौँ । हामीले केवल ३० देखि ४० लाख डलरसम्मको कुरा गरिरहेका छौं । १५ लाख डलरमा हामी मानिसमा यो भ्याक्सिनको असरको चिकित्सा अनुसन्धान पूरा गर्दछौँ । तर उनीहरुले त्यहँ समयमा हाम्रो काम बन्द गरिदिए जब हामी ठीक नतिजाको नजिक पुग्न लागेका थियौँ ।’

घाटाको व्यापार
बायोटेक कम्पनी आरए क्यापिटलका निर्देशक तथा भाइरस विज्ञ पिटर कोलचिन्स्की भन्छन्, ‘उक्त भ्याक्सिनका लागि कुनै बजार थिएन, त्यसैले त्यसका लागि पैसा दिन बन्द गरियो । वास्तविकता त के हो भने जब एउटा बजार उपलब्ध हुन्छ, तब त्यसको समाधान पनि हुन्छ । अहिले हामीसँग कोरोना भाइरसका लागि सयौं खोपहरु उपलब्ध छन् तर सबै सुँगुर, कुखुरा तथा गाईजस्ता जनावरहरुका लागि हुन् ।’

यी तिनै भ्याक्सिन हुन्, जो कुखुरा तथा घरपालुवा पशुहरुलाई कोरोना भाइरसबाट बचाउनका लागि लगाइन्छ र यस्ता भ्याक्सिनको बजार करोडौँ डलरको छ । पिटर कोलचिन्स्की भन्छन्, ‘समस्या यो हो कि कुनै कम्पनीका लागि मान्छेको यस्तो भ्याक्सिन तयार गर्नु एक घाटाको व्यापार हो । किनकी यो दशकौंसम्म वा सायद कहिल्यै प्रयोग नहुन सक्दथ्यो । यस्तोमा सरकारहरुले लगानी गर्नु पर्दछ । यदि उनीहरुको प्राथमिकतामा हुन्थ्यो भने सरकारी एजेन्सीहरुले सार्स महामारीको भ्याक्सिनमा चलिरहेको अनुसन्धानका लागि रकम उपलब्ध गराइरहन्थे । र, हामी कोडिभ–१९ विरुद्धमा पूर्ण रुपमा तयार हुन्थ्यौँ ।’

नयाँ भ्याक्सिन
आजको सत्य त यो हो कि हामीलाई कोभिड–१९ विरुद्धको खोप आवश्यक छ । तर आगामी १२ देखि १८ महिनाभित्रमा यस्तो खोप तयार हुने सम्भावना पनि कम छ । र, त्यतिबेलासम्म नयाँ कोरोना भाइरसको महामारी पनि नियन्त्रण भइसक्ला । डाक्टर मारिया र उनको टिमले सन् २०१६ मा तयार गरेको भ्याक्सिनको अपडेटमा काम गरिरहेको छ, जसबाट कोभिड १९ को नयाँ खोप बनाउन सकियोस् । तर अझैपनि अनुसन्धानका लागि रकम जुटाउन सकस भैरहेको छ ।

उनी भन्छिन्, ‘२०१६ को भ्याक्सिनको अपडेटको कामलाई तीव्र रुपमा अघि बढाउनका लागि रकम प्राप्त भएको छ । नेशनल इन्स्टिच्यूट अफ हेल्थले पनि चार लाख डलर दिएको छ । तर यो अनुसन्धान अझै तीव्र पार्न धेरै रकम आवश्यक पर्दछ । र, रकम जुटाउने प्रक्रिया निकै निराशाजनक छ ।’

छलफल मा सहभागी हुनुहोस