के हामी साच्चै ‘लकडाउन’ मा छौं त ?

जीवनशैली
बैशाख १०, २०७७ / ०४:४५ मा प्रकाशित

दुर्लभ भट्टराई । सम्भवत हामी सबैको लागि यो ‘लकडाउन’को अनुभूति पहिलो हो । कयौ पटक अनेकौ बहानामा सडकमा उभिएका हामी नेपालीका लागि कर्फू र नेपाल बन्द त सामान्य भयो तर ‘लकडाउन’ बारे हामी त्यति अभ्यस्त नभएरै होला देशको यो विषम परिस्थितिमा हामी सरकारको निर्णयको ब्यवास्ता गर्दैछौ जस्तो लाग्छ ।

चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म एक साता देशैभर लकडाउन गर्न नेपाल सरकारले निर्णय त गर्यो तर यसको अक्षरस पालना भने हामी जानेर वा नजानेर वा भनौ नबुझेर गर्न सकिरहेका छैनौ । यतिबेला हाम्रो ब्यबहार भने ‘लकडाउन’ नभई नेपाल बन्द वा कुनै अन्य बन्दमा बसे जस्तै छ । ‘लकडाउन’को तेस्रो दिन, साझँको ५ बजेपछि घर बाहिर निस्कनेको ताती हिजो अस्ति भन्दा फरक देखिन्न ।

विश्वव्यापी महामारीको रुपमा देखा परेको नोभल कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमण रोक्न नेपाल सरकारले घोषणा गरेको लकडाउनको प्रभाव सबै ठाउँमा सकारात्मक देखिएको छैन । ठाँउ ठाउँमा निरन्तर रुपमा सडकमा निस्किएका मानिस र उनीहरुको प्रवृति रोक्न प्रहरीद्वारा भएको लाठीचार्जका घटनासँगै हाम्रो समाज कता तिर जादै छ भन्ने प्रश्न चिन्ह पनि थपिएको छ ।

सामान्यतया मानिसहरुको एक ठाँउबाट अर्को ठाँउमा आवतजावत रोक्नुपर्ने अवस्थामा ‘लकडाउन’ गर्ने गरिन्छ । मानिसको भीडभाडलाई कम गर्नु नै लकडाउनको मुख्य उद्देश्य हो । ‘लकडाउन’ संक्रमणको चेन तोड्ने प्रभावकारी विधि पनि हो, जुन कुनै पनि महामारी एक स्थानबाट अर्को स्थानमा नफैलियोस भन्नका लागि गरिन्छ । संक्रामक रोग ऐन, २०२० अनुसार केन्द्रीय तथा प्रदेशिक सरकारले लकडाउनको अधिकार प्रयोग गर्न पाउँछ ।

यो एक प्रकारले आपत्कालीन अवस्था पनि हो । अहिलेको अवस्थामा हामी सामु यो विकल्प भन्दा अरु केहि दरो विकल्पहरु नभएका कारण नेपाल सरकारको यो उचित कदमलाई आत्मसाथ गरि आफू र आफ्नो परिवारलाई यथास्थानमा सुरक्षित राख्न भन्दा हामी अरु केहि गर्न सक्दैनौ ।

‘लकडाउन’ हामिले कोरोना भाइरस प्रभावित देशहरुबाट जोखिम न्यूनीकरण गर्ने विधी मध्ये एक अनुशरण गरेका हौं । हेर्ने हो भने चीनको हुबेई प्रान्तलाई नै लकडाउन गरेर यसको फैलावट रोक्न प्रयास गरियो । २३ जनवरीदेखि मानिसको आवतजावतलाई पूरै नियन्त्रण गरिएको वुहानमा संक्रमितको संख्या झन्डै ७० हजारसम्म पुग्यो । तर, हुबेई बाहिरचाहिँ यसलाई केही हजारमा सीमित गर्न चीन सफल पनि भयो ।

इटालीमा पनि यही प्रयोग भयो तर अलि ढिलो । त्यहाँको रोग वा महामारी विस्तारको क्रम अझै रोकिएको छैन । फ्रान्स, स्पेन र संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियाले यही विधि अपनाएका छन् । मानिसलाई अत्यावश्यक अवस्थामा बाहेक घरबाहिर ननिस्कन भनिएको छ ।

लकडाउनको अवस्थामा के हुन्छ ?
१. औषधि उपचार, खाद्यवस्तु खरिद जस्ता अत्यावश्यक कामका लागि मात्र व्यक्ति घरबाट बाहिर निस्कन पाउँछ ।
२. स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने गाडीलाई मात्र संचालनको अनुमति हुन्छ । विशेष परिस्थितिमा सुरक्षा निकाएबाट अनुमति लिएर यातायातको साधन संचालन गर्न सकिन्छ ।
३. सुरक्षा निकायबाट प्रयोग हुने वायु यान र तोकिएका अन्य उडान बाहेक अन्य सबै आन्तरिक व्यावसायिक उडान बन्द हुन्छ ।
४. स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत्, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोर मैला व्यवस्थापन जस्ता अत्यावश्यक सेवा बाहेक अन्य कार्यालय बन्द गरिन्छ ।
५. औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगबाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग, कलकारखानामा काम गर्ने श्रमिक, कर्मचारीलाई सम्बन्धित उद्योगले विदा दिने व्यवस्था मिलाउँछ ।
६. व्यवसायीले औषधि र औषधिजन्य सामग्रीको नियमित आपूर्तिको व्यवस्था गर्ने, अभाव देखाइ मूल्यवृद्धि गर्ने वा कालोबजारी, जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानुन बमोजिम सम्बन्धित सरकारले नियन्त्रणमा लिई सामग्री जफत गरी रोगको रोकथाम र उपचारको कार्यमा उपयोग गर्न सक्छ ।

छलफल मा सहभागी हुनुहोस